Sunday, July 7, 2019

रुद्रमणी भुसाल 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमा अवसरमा अर्घाखाँची जिल्लाभर रक्षाबन्धन बाँधिएको छ ।

सन्धिखर्कको शान्तिबगैचामा रहेको मन्दिरमा रक्षाबन्धन बाँधिनुका साथै जनै फेर्नेहरुको घुइचो लागेको थियो । 

प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहेको छ ।
आजका दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ । 

तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनैपूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ । ‘रक्षाबन्धन धागो’ महिलाहरुको बायाँ नाडीमा र पुरुषहरुको दायाँ नाडीमा बाँध्ने चलन छ । यो दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ । यसरी डोरो, गाइको पुच्छरमा बाँधे, मरेपछि त्यही डोरो समातेर बैतरणी नाघिने कथन छ ।
तराई क्षेत्रमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेकामा पछिल्ला वर्षमा पहाडी क्षेत्रमा पनि राखी बाँध्न थालिएको छ । नेवार समुदायले भने यो पर्वलाई गुन्हु पुन्हीको रुपमा मनाउने गरेका छन । आजका दिन नेवार समुदायमा मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा आएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।